नेप्सेमा लगातार गिरावट, कारोबार रकममा भने सामान्य सुधार

मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । आज ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मङ्गलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो । मंगलबार नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

१३ उपसमूहमध्ये ४ उपसमूहमा मात्र वृद्धि देखिएको छ भने ९ उपसमूहमा गिरावट आएको छ । विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा समूहले सामान्य सुधार देखाए पनि व्यापार समूह सबैभन्दा बढी १.२४ प्रतिशतले घटेको छ ।

नेप्से घटेपनि मंगलबार कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ । त्यस्तै, नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य कम्पनीहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सिटि होटलको सेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सिटि होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, साहस उर्जाको ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज ११३ कम्पनीको मूल्य बढेको छ भने १४५ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।