राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा : स्थायी निक्षेप सुविधा पुनरावलोकन हुने (पूर्णपाठ)

प्रतिवेदन अनुसार बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन गर्ने भएको छ ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्ष प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवसथा पुनरावलोकन गर्ने भएको छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो नीति अपनाएको हो । समीक्षमा भनिएको छ, ‘ ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिनेछ ।’

राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति यस बैंकको लक्ष्यअनुरूप नै रहने प्रक्षेपणको आधारमा न्यून आर्थिक वृद्धिको स्थितिलाई दृष्टिगत गरी चालु आर्थिक वर्षको सुरुदेखि नै लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको छ । यसैगरी ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत् राखेको छ ।

केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८५ प्रतिशत रहने अपेक्ष गरिएको छ । प्रतिकूल मौसम तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर एक दशमलव ५८ प्रतिशतमा सीमित भए पनि उद्योग क्षेत्रको वृद्धिदर ५ दशमलव ६७ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव २१ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा कूल गार्हस्थ उत्पादनमा लगानीको हिस्सा बढेको छ । थोक तथा खुद्रा व्यापार, आन्तरिक तथा बाह्य पर्यटन, जलविद्युत्, वित्तीय तथा बिमा, यातायात तथा भण्डारण र सूचना प्रविधि क्षेत्रको विस्तारसँगै समष्टिगत मागमा क्रमिक सुधार आउने अपेक्ष गरिएको छ ।

राष्ट्र बैंकले मुद्रास्फीति लक्ष्यभन्दा न्यून रहे पनि विश्वव्यापी भूराजनीतिक तनावका कारण मूल्यवृद्धिमा दबाब पर्ने जोखिम रहेको जनाएको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ, उद्योगका लागि आवश्यक कच्चापदार्थ तथा केही उपभोग्य वस्तुको आपूर्ति शृङ्खला प्रभावित भएको उल्लेख गर्दै फागुन १६ देखि वैशाख मसान्तसम्म पेट्रोलको मूल्य ३५ प्रतिशत र डिजेलको मूल्य ५८ प्रतिशतले बढेको जनाएको छ ।

यद्यपि, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म औसत उपभोक्ता मुद्रास्फीति २ दशमलव ३९ प्रतिशत रहेको र वार्षिक औसत मुद्रास्फीति लक्षित सीमाभित्र रहने प्रक्षेपण गरिएको छ । बाह्य क्षेत्रतर्फ विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएकाले चालु खाता, शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चिति बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ । तर, नेपालमा करिब ४० प्रतिशत विप्रेषण पश्चिम एसियाबाट आउने भएकाले उक्त क्षेत्रमा जारी तनावले विप्रेषण आप्रवाह, व्यापार घाटा र विदेशी विनिमय सञ्चितिमा दबाब पार्न सक्ने जोखिम औँल्याइएको छ । समीक्षअनुसार बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा केही बढे पनि आर्थिक गतिविधिमा सुधारसँगै त्यस्तो कर्जामा सुधार आउने अपेक्ष गरिएको छ । 

प्रकाशन भएका दस्तावेजहरू

6a07c874540b8_1778894964.pdf