अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सरकारको निर्देशन
मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।
काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरुलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।
परिपत्रमा सरकारी कार्यालयहरूमा कार्यरत प्रमुख निजामती पदाधिकारी तथा कर्मचारीहरूले कुर्सी, टेबुल, सोफा, कम्प्युटर, मोबाइल, ल्यापटपलगायतका सामग्री प्रयोगयोग्य हुँदाहुँदै नयाँ खरिद गर्ने प्रवृत्ति बढेको उल्लेख गरिएको छ । यस्ता कार्यले सार्वजनिक खर्चमा अनावश्यक भार थपिएको भन्दै प्रधानमन्त्री कार्यालयले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ ।