नेप्सेमा १०.०७ अंकको गिरावट, ३ अर्ब २९ करोडको कारोबार

बिहिबार नेप्से १०.०७अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ । आज ३ अर्ब २९ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

काडमाडौं । बिहिबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । दुई कारोबार दिन देखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । तिन दिनमा नेप्से ५३.६५ अंक घटेको छ । बिहिबार नेप्से १०.०७अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ ।

 नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । आज ३ अर्ब २९ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । बुधबार भने २ अर्ब ८० करोड ७४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एशियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८९ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, साहस उर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

 आज ८० कम्पनीको मूल्य बढेको छ भने १७४ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।