एनआईएमबीको सीईओ पक्राउप्रति बैंकरहरुको एक स्वर, ‘थुनाबाहिर राखेर अनुसन्धान गर्न’ माग

सुन अनि थुन सिद्धान्तलाई अबलम्बन गर्न र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन पाण्डेलाई थुनाबाहिर राखी छानबिन अघि बढाउन ति संस्थाहरुले आग्रह गरेका छन् ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका छाता संगठनहरूले नेपाल इन्भेष्टमेण्ट मेगा बैक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सुन अनि थुन’ सिद्धान्त अवलम्बन गर्नुपर्ने भए पनि सरकार पहिला थुन अनि सुन प्रक्रियामा प्रवेश गरेको छाता संगठनहरुले उल्लेख गरेका छन् । सुन अनि थुन सिद्धान्तलाई अबलम्बन गर्न र अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन पाण्डेलाई थुनाबाहिर राखी छानबिन अघि बढाउन ति संस्थाहरुले आग्रह गरेका छन् । 

नेपाल बैंकर्स संघ, डेझलपमेन्ट बैंकर्स एसोशियसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले कर्जा असुलीका कारण सीईओलाई पक्राउ गर्नुले बैंकप्रतिको जनविश्वास कमजोर हुन सक्ने, संस्थाको साखमा गिरावट आउन सक्ने तथा समग्र वित्तीय स्थायित्वमा असर पर्न सक्ने जनाएका छन् । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार बिहान पाण्डेलाई नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै बैंकर्सहरूले बैंकिङ क्षेत्रको साख र स्थायित्वमा असर पर्ने काम सरकारले गरिरहेको दावी गरेका छन् ।