याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, १ लाख ७४ हजार लगानीकर्ताले पाए सेयर

जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

काडमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँड गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बुधबार बिहान आफ्नै कार्यालयमा गोलाप्रथामार्फत सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले वैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । मुक्तिनाथ क्यापिटलका अनुसार कुल २९ लाख ८२ हजार ४९८ जनाले आवेदन दिएका थिए । तीमध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन योग्य ठहरिएको थियो ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो । जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी झन्डै २७ लाखभन्दा बढी आवेदकले भने सेयर पाएनन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत फागुन १७ गते आईपीओ निष्कासनको अनुमति दिएको थियो ।