सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था आयो: भीष्मराज आङ्देम्बे

नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहप्रति इंगित गर्दै ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे जनताप्रति जवाफदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख डीपी अर्यालसँग समय माग गरेर बोलेको आङ्देम्बेले लोकतन्त्र बन्द कोठाको शासन नभएर खुला र सरल प्रक्रिया भएको पनि स्मरण गराए । नेता आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहप्रति इंगित गर्दै ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपरेको कटाक्ष पनि गरे ।

साथै आङदाम्बेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अचानक बैठकबाट बाहिर स्वास्थ्य बिग्रिएर गएको भन्ने विषय आएकाले प्रधानमन्त्रीको स्वास्थ्य बारे संसदलाई जानकारी दिन माग गरेका छन् । उनले प्रधानमन्त्रीका कारण संसदीय समितिका बैठक समेत प्रभावित भएको प्रति उनले सरकार र रास्वपाको ध्यानाकर्षण गराए । उनले करिब दुई तिहाइको जित हासिल गर्दा पनि एउटा गृहमन्त्री नियुक्त समेत गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

साथै उनले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार हिच्किचाएको भन्दै प्रश्न गरेका छन् । उनले भने "अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ? तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु ।’