उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु, अध्यक्ष ढकाल र भावी अध्यक्ष श्रेष्ठको प्यानलै प्रतिस्पर्धामा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । मंगलबार नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको मतदान मार्फत नयाँ कार्यसमिति चयन गर्नेछ ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, अन्य पदाधिकारीहरुले पनि मतदानमा भाग लिइसकेका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् भने उपाध्यक्षदेखि केन्द्रिय समिति सदस्यसम्मको परिणाम आजको मतदानले निर्धारण गर्नेछ । वस्तुगत, जिल्लानगर, एसोसिएट गरी चारवटै उपाध्यक्ष र कार्यकारीणी सदस्यमा दुबै पक्षले प्यानल बनाएका छन् ।निर्वाचनमा अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ प्यानलसहित मैदानमा उत्रिएका छन्। ढकाल पक्षबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल छन् भने श्रेष्ठ पक्षबाट सुरकृष्ण वैद्य छन् । 

महासंघमा ७३ पदका लागि निर्वाचन हुन गएको हो । त्यसका लागि १ सय ३७ जनाले उम्मेदवारी दिएका छन् । जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष गरी चारजना उपाध्यक्ष निर्वाचित हुनेछन् भने बाँकी कार्यकारिणी समिति सदस्य हुनेछन् । यो निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने बताइएको छ ।