३६ वर्षे प्रधानमन्त्री र ५० वर्षे अर्थमन्त्रीले देश हाँक्नु नै ठूलो परिवर्तन हो, अब निजी क्षेत्रले पनि सोच बदल्नुपर्छ: अर्थमन्त्री

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताएका हुन् ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि बर्तमान सरकार अझ निर्मम हुने बताए। पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनको जिकिर छ । ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रले इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव विगतमा रहेपनि अब यो अवस्था नरहने उनको भनाइ छ ।

मन्त्री वाग्लेले निजी क्षेत्रलाई पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्न सुझाव दिए । सरकारले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यावसायिक वातावरण सुधार गर्न काम गरिरहेको उनले बताए । साथै, वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको ‘वाचापत्र’ मा टेकेर अगाडि बढ्ने र सोही अनुरूप आर्थिक सुधारका कार्यहरू अघि बढाउने उनले स्पष्ट पारे ।

सरकारले अर्थतन्त्र वृद्विका लागि जुन लक्ष्य राखेको छ त्यसका लागि निजी क्षेत्रको साथ चाहिने उनले बताए ।