इमान्दार व्यवसायी नडराउनुस्, अपराधीलाई छोडिन्न: अर्थमन्त्री
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बजेटपूर्व आयोजना गरेको एक छलफल कार्यक्रममा भिडियो कन्फरेन्स मार्फत वाग्लेले उद्योगी व्यवसायीका नाममा गम्भीर खालको गल्ती नगर्न पनि आग्रह गरेका छन् ।
काठमाडौं । अर्थमन्त्री डा, स्वर्णिम वाग्ले ले इमान्दार उद्योगी-व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गर्दै गैरकानुनी गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही हुने स्पष्ट सन्देश दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बजेटपूर्व आयोजना गरेको एक छलफल कार्यक्रममा भिडियो कन्फरेन्स मार्फत वाग्लेले उद्योगी व्यवसायीका नाममा गम्भीर खालको गल्ती नगर्न पनि आग्रह गरेका छन् । “गल्ती नभएका उद्योगी व्यवसायी डराउनु पर्दैन। उद्योग व्यवसायको नाममा अपराधी नै बनेर हिँडेका व्यक्तिहरु चाहिँ डराए हुन्छ,” वाग्लेले भने, “उद्योग, व्यवसायको आवरणमा अपराध गरेर हिँड्नेलाई कुनै पनि हालतमा उन्मुक्ति दिइने छैन।” वाग्लेले इमान्दार व्यवसायीलाई संरक्षण गर्ने र गलत काम गर्नेहरूलाई कानुनी दायरामा ल्याउने सरकारको स्पष्ट नीति रहेको बताए ।
उनले सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदारका रूपमा लिएर आगामी बजेटमा ‘बुस्टअप’ गर्ने कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए । निजी लगानी प्रवर्द्धन गर्ने, लगानीमैत्री वातावरण बनाउने र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने ठोस कार्यक्रम बजेटमा समावेश गरिने उनको भनाइ थियो ।
अर्थमन्त्री वाग्लेले आगामी पाँचदेखि सात वर्षभित्र मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुर्याउने लक्ष्य राखिएको बताए। त्यस्तै, नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलरसम्म विस्तार गर्ने दीर्घकालीन उद्देश्य पनि बजेटमार्फत अघि बढाइने उनले उल्लेख गरे । वाग्लेले विगतमा अपेक्षित नतिजा दिन नसकेका तथा निस्प्रभावी बनेका आयोजनाहरू खारेज गर्ने स्पष्ट संकेत पनि दिए। साथै करको दर र कर प्रणालीमा सुधार गरी व्यवसायमैत्री र पारदर्शी कर संरचना निर्माण गरिने उनले बताए ।