स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई माउन्ट एभरेष्ट पावरको आईपीओ खुला

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो ।

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गरेको हो ।

कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशतबराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसमध्ये ८ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रभित्र पनि अति प्रभावित र अन्य प्रभावित क्षेत्रका बासिन्दाबीच छुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने व्यवस्था गरिएको छ ।

 श्रम स्वीकृति प्राप्त गरेका नेपालीहरूले सी-आस्वा प्रणाली तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन् ।यस्तै स्थानिय बासिन्दाले माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितका स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा वैशाख ३१ गते र ढिलोमा जेठ १८ गते बैंकिङ समयपछि हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि हुनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी बीबी प्लसं’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।