महावीर पुनको सम्पत्ति विवरण: २८ रोपनी जग्गा, ३ तोला सुन र बैंकमा २९ लाख
उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् ।
यी जग्गाहरू स्वआर्जन भएको र कतिपय भने अमेरिकाबाट फर्कँदा बचेको पैसा भएको सांसद पुनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले यी सबै जग्गा पदम पुनसँग मिलेर किनेको र राष्ट्रिय आविस्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको उल्लेख गरेका छन् । यद्यपी हालसम्म जग्गा बिक्री नभएको उनको भनाइ छ । उनले २०६० सालमा किनेको ३ तोला सुन श्रीमतीसँग रहेको उल्लेख गरेका छन् । सुनको स्रोत भने इस्टमित्रहरूले पत्नीलाई उपहारस्वरूप दिएको उनले उल्लेख गरेका छन् ।
यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको विवरण पुनले सार्वजनिक गरेका छन् । नेपाल बैंक लिमिटेडकमा रहेको ४ लाख रकम साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरुले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् । यो रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीमा रहेको सम्पर्क कार्यालय सन्चालनमा खर्च गर्ने उनले जनाएका छन् । उनले आफूले आफ्नो आत्मकथा पुस्तक हालसम्म २ लाख ५० हजार प्रतिबिक्री गरेको र त्यसबाट आएको सबै पैसा राष्ट्रिय आविस्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनार्थ राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंकमा रहेको बैंक खातामा जम्मा गरेको उल्लेख गरेका छन् ।
उनले आफूसँग कुनै धितोपत्र वा सेयर नरहेको बताएका छन् । साथै कसैलाई ऋण नदिएको र कसैसँग नलिएको, सवारीसाधन नरहेको, कृषि तथा पशुधन पनि नरहेको उल्लेख गरेका छन् ।
उनले स्वस्फूर्त रूपमा सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । यही विवरण आफूले शिक्षमन्त्री हुँदा पनि बुझाएको पुनले बताएका छन् । तर तत्कालीन सरकारले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरिदिएको उनको भनाइ छ ।