याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावरले आज (वैशाख १६) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्यका २८ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो ।
स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता र विदेशमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ । साथै १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता (१७ करोड ४३ लाख रुपैयाँ बराबर) सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ भने माग अनुसार अवधि वैशाख ३० गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले सी-आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूका शाखाबाट तथा ‘मेरो सेयर’ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
क्रेडिट रेटिङ्गतर्फ केयर रेटिङ्ग्स नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।