९ महिनामा वाणिज्य बैंकहरुले कमाए ४९ अर्ब २१ करोड नाफा, नबिल सबैभन्दा अगाडि

चालु वर्षको ९ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खुद नाफामा सुधार आएको छ । चालु वर्षको ९ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले यस अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । अघिल्लो वर्ष २०८१/८२ को चैतसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्ष अवधिमा बैंकहरुको नाफा १९.३० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा समीक्ष अवधिमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ । 

यस अवधिमा नाफाको अंकका आधारमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिलले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । बैंकको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ३३.९२ प्रतिशतले बढेको हो । 

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्ष अवधिसम्म बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.९३ प्रतिशतले घटेको छ ।

 चैतसम्म कुमारी बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । गत आबको तेस्रो त्रैमासमा २८ करोड ५८ लाख रुपैयाँ मात्रै रहेको बैंकको नाफामा उच्च वृद्धि देखिएको छ ।

 हिमालयन बैंकले तेस्रो त्रैमाससम्म ७६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा बैंकको नाफा ५२.४९ प्रतिशतले बढेको हो । एनआईसी एशिया बैंकको नाफा सबैभन्दा कम देखिएको छ । बैंकले चैतसम्म १४ करोड ३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले घटेको हो । प्रभु बैंकले ८५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ५४.६१ प्रतिशतले घटेको हो ।

त्यस्तै, चैत मसान्तसम्ममा एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख नाफा आर्जन गरेका छन् । चैतसम्ममा प्राइम कमर्सियल बैंकले नाफा ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड, सानिमा बैंकले २ अर्ब ३५ करोड नाफा कमाएका छन् । यसैगरी, स्टान्र्डड चार्टड बैंकले २ अर्ब ८ करोड, लक्ष्मी सनराइज बैंकले २ अर्ब ३ करोड, सिद्धार्थ बैंकले २ अर्ब १ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६५ करोड र नेपाल एसबीआई बैंककले १ अर्ब ४६ करोड नाफा कमाएका हुन् ।

त्यस्तै, कृषि विकास बैंकले १ अर्ब ३९ करोड, सटिजन्स बैंकले १ अर्ब ३० करोड, प्रभु बैंकले ८५ करोड हिमालयन बैंकले ७६ करोड २५ लाख र एनआईसी एशिया बैंकले १४ करोड नाफा कमाएको छ ।