स्याकार ट्रेडिङ कम्पनीद्वारा होण्डाका २ प्रिमियम सर्भिस सेन्टर उद्घाटन

कम्पनीले पहिलो चरणमा देशभर ६ वटा यस्ता आधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

काठमाडौं । पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा विस्तारको घोषणा गरेको छ । यसै पहल अन्तर्गत काठमाडौंको त्रिपुरेश्वर (साविकको टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा दुईवटा अत्याधुनिक प्रिमियम सर्भिस सेन्टरहरूको औपचारिक उद्घाटन गरिएको छ । कम्पनीले पहिलो चरणमा देशभर ६ वटा यस्ता आधुनिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। उक्त उद्घाटन समारोहमा होण्डा मोटर कं. लि. का उपाध्यक्ष तथा एसिया एण्ड ओसियानाका प्रमुख तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो। कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” को नयाँ अवधारणा अगाडि सारेको छ, जस अन्तर्गत ग्राहकहरूले अतिरिक्त शुल्क बिना नै उच्चस्तरीय सेवाको अनुभव लिन पाउनेछन् ।

यी नयाँ सर्भिस सेन्टरहरूमा थ्रीएस (३एस) सुविधा उपलब्ध छ, जसले शोरुम, सर्भिस र जेन्युन पार्ट्सलाई एकै छानामुनि समेटेको छ। ग्राहकको सुविधाका लागि अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्रयाकिङ प्रणाली र फास्ट सर्भिस बेजको व्यवस्था गरिएको छ ।

साथै, दक्ष मेकानिक्सद्वारा प्रदान गरिने सेवाका अतिरिक्त ग्राहकहरूले आरामदायी वेटिङ लाउन्जमा निःशुल्क कोल्ड ड्रिंक्स र कफीको समेत आनन्द लिन सक्नेछन् । स्याकार ट्रेडिङले आगामी दिनमा देशभर थप सेवा केन्द्रहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।