स्नो रिभर्सले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो ।
काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँबराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ १ गते हुनेछ भने ढिलोमा जेठ १२ गते हुनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।