गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् । चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री गुरुङले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्। 'आज देशमा सुशासन र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,' उनले भनेका छन्, 'मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको यो सरकारमाथि कसैले प्रश्न उठाउँछ भने त्यसको जवाफ नैतिकता नै हुनुपर्छ ।' उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा 'स्वार्थको द्वन्द्व' नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन् । राजीनामा दिने क्रममा उनले सञ्चारकर्मी र आम युवाहरूलाई सत्य र आत्मशुद्धिको बाटोमा उभिन अपिल गर्दै मिडियाकर्मीमाथि पनि चुनौती दिए।
उनले भने, ‘कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वीट शेयर छ, बिस्तारै आउला। रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’