सेबोन प्रतिवेदन: दर्जन कम्पनीको टिएमएस एउटैको हातमा, दीपक भट्टसहित अन्यलाई पनि कारबाही सिफारिस
बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको रिपोर्टका क्रममा भेटिएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ‘दिपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ बाहिरिएको छ । रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिले तयार पारेको सुपरीवेक्षण प्रतिवेदनले मुख्य दोषी भट्टसहित अन्य केही व्यक्तिहरूलाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।
भट्टसहित व्यवसायीहरू सन्दीप चाचान, शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई आरोपित ठहर गरिएको छ । समितिले उनीहरूले धितोपत्र कारोबारमा कसुर गरेको ठहर गर्दै आवश्यक कारबाही अघि बढाउन सुझाव दिएको हो । सार्वजनिक प्रतिवेदनमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, भृकुटी स्टक ब्रोकिङ्ग, हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली (टिएमएस) एउटै व्यक्तिले चलाउने गरेको भेटिएको उल्लेख गरिएको छ ।
यसअनुसार भट्ट, अग्रवाल, भृकुटी स्टकका साथमा हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र विभिन्न आधा दर्जन माइक्रो इन्स्योरेन्स कम्पनीहरूको अनलाइन कारोबार प्रणाली एउटै व्यक्तिले चलाउने गरेको पाइएको हो । बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको रिपोर्टका क्रममा भेटिएको छ । दीपक भट्ट र भृकुटी स्टक मुख्य योजनाकार देखिएको यस योजनामा सुलभ अग्रवाल, शुभी अग्रवाल, राज बहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ता र शेखर गोल्छा जस्ता ठूला नामहरू मतियारका रूपमा उभिएको बोर्डले निष्कर्ष निकालेको छ ।
भृकुटी स्टक ब्रोकिङ्ग (ब्रोकर नं. ५५) सँगको मिलेमतोमा दीपक भट्टले नियम विपरित एक रुपैयाँ पनि अग्रिम भुक्तानी नगरी ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँको सेयर खरिद गरेको र हालसम्म पनि २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँ उधारो बाँकी राखेको भेटिएको छ ।
शुभी अग्रवालले सेयर खरिदवापत कुनै रकम जम्मा नगरी कारोबार गरेको र एक समयमा ब्रोकरलाई तिर्नुपर्ने रकम १ अर्ब ३६ करोड ९ लाखसम्म पुगेको थियो । हाल उनको नाममा र६२ करोड ८९ लाख ५६ हजार तिर्न बाँकी देखिएको छ ।
राज बहादुर शाहले पनि अग्रिम रकम नराखी कारोबार सीमा पाएको र शेयर खरिदवापत ब्रोकरलाई ८९ करोड ७० लाख ९७ हजार तिर्न बाँकी रहेको छ ।
ऋषि राज मोरले उधारो रकम एक समयमा १ अर्ब ३२ करोड २८ लाखसम्म पुगेको र हाल रु। २३ करोड १ लाख ३१ हजार तिर्न बाँकी रहेको छ ।
हिमालय इन्भेष्टमेन्ट बैंकर संस्थाले पनि ब्रोकरलाई २२ लाख २६ हजार तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।
यसरी एउटै ब्रोकरबाट निश्चित व्यक्तिहरूको समूहलाई अर्बौंको उधारो कारोबार गर्न दिई बजारको मूल्यमा अस्वाभाविक वृद्धि गराउने र आम लगानीकर्तालाई झुक्याउने गम्भीर वित्तीय अपराध भएको प्रतिवेदनको निष्कर्ष छ ।
बजारमा विभिन्न कम्पनीहरूबीच प्रतिस्पर्धा देखाएर पर्दा पछाडिबाट एकै व्यक्तिले मूल्य तोक्ने, माग सिर्जना गर्ने र कारोबार गर्ने काम गरी लगानीकर्ता फसाउने काम भएको प्रतिवेदनमा उल्लेख छ।