वीरगंज नाका हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात
यो नाका हुँदै चालू आवको ९ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरीका पेट्रोलियम आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम आयात भएको थियो ।
काठमाडौं । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो । गत आवको नौ महिनामा भने छ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँबराबरका वस्तु तथा सामान आयात भएको थियो । यो नाका हुँदै चालू आवको ९ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरीका पेट्रोलियम आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम आयात भएको थियो ।
चालू आवको ९ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । गत आवको सोही अवधिमा भने ५५ अर्ब ९ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो । चालू आवको ९ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ । गत आवको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भयो ।
चालू आवको ९ महिनामा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। गत आवको ९ महिनामा भने ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो ।
चालू आवको ९ महिनामा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ भने गत आवको सोही अवधिमा ३० अर्ब १४ करोड मूल्यका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो । कार्यालयले चालु आवको नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।