राष्ट्र बैंकले मुद्दती निक्षेपमा १० अर्ब लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान

राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । यसका लागि वैशाख ९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । यसका लागि वैशाख ९ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार लगानी हुने रकममध्ये वाणिज्य बैंकमा ८ अर्ब रुपैयाँ, विकास बैंकमा १ अर्ब ५० करोड रुपैयाँ र वित्त कम्पनीमा ५० करोड रुपैयाँ छुट्याइएको छ । 

उक्त निक्षेप ३६६ दिनको अवधिका लागि रहनेछ । केन्द्रीय बैंकले आवेदन दिने संस्थाका लागि विभिन्न शर्त तोकेको छ। संस्थाले कम्तीमा दुई वर्ष सञ्चालन अवधि पूरा गरेको हुनुपर्ने, न्यूनतम पुँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्ने तथा निष्क्रिय कर्जा अनुपात ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, खुद तरल सम्पत्ति तोकिएको सीमाभित्र हुनुपर्ने, कर्जा-निक्षेप अनुपात नियामक सीमाभित्र रहनुपर्ने र अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको हुनुपर्ने सर्त पनि राष्ट्र बैंकले राखेको छ ।

यसका साथै, शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाले फुकुवा भएको कम्तीमा ६ महिना पूरा गरेको हुनुपर्ने, समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने व्यवस्था पनि गरिएको छ ।