सामसङ ग्यालेक्सी ए५७ र ए३७ फाइभजी सार्वजनिक, २४ महिनासम्मको ईएमआई सुविधा
यो फोनले ग्यालेक्सी ‘ए’ सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ । उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राख्दै सामसङले यसपटक २४ महिनासम्मको किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराएको छ ।
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए ५७ (A57) फाइभजी र ग्यालेक्सी ए ३७(Galaxy A37) फाइभजी सार्वजनिक गरेको छ । यो फोनले ग्यालेक्सी ‘ए’ सिरिजलाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचर र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ । उपभोक्ताको क्रयशक्तिलाई ध्यानमा राख्दै सामसङले यसपटक २४ महिनासम्मको किस्ताबन्दी (EMI) सुविधा उपलब्ध गराएको छ । पहिलेको १२ महिने योजनालाई स्तरवृद्धि गर्दै कम्पनीले सामसङ इन्स्टा फाइनान्स सेवा अन्तर्गत हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत यो सुविधा ल्याएको हो । नागरिकता मात्र भए पुग्ने यो प्रक्रिया झन्झटरहित रहेको कम्पनीले जनाएको छ । नयाँ ग्यालेक्सी ए सिरिजमा ‘इनहान्स्ड असम इन्टेलिजेन्स’ समावेश गरिएको छ । यस अन्तर्गत रहेको भ्वाइस ट्रान्सक्रिप्सन फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्छ । त्यस्तै, ‘एआई सेलेक्ट’ ले स्क्रिनमा रहेका सामग्री छिटो चयन गरी एपहरूबिच सार्ने सुविधा दिन्छ । फोटो एडिटिङका लागि ‘अब्जेक्ट इरेजर’, ‘फिल्टर्स’ र ‘एडिट सजेसन्स’ जस्ता स्मार्ट टुल यसमा उपलब्ध छन् ।
दुवै स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप रहेको छ । नाइटोग्राफी प्रविधिका कारण कम प्रकाशमा पनि स्पष्ट र प्राकृतिक फोटो खिच्न सकिने कम्पनीको दाबी छ । पर्फमेन्सका लागि यसमा अपग्रेड गरिएको सीपीयू र जीपीयू राखिएको छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको यी फोनलाई एक पटकको फुल चार्जमा दुई दिनसम्म प्रयोग गर्न सकिने बताइएको छ । ग्यालेक्सी ए५७ मा सुपर फास्ट चार्जिङ २.० को सुविधासमेत छ ।
धुलो र पानी प्रतिरोधी बनाउन यी डिभाइसलाई आईपी ६८ रेटिङ दिइएको छ । सामसङले ग्राहकलाई दीर्घकालीन भरोसा प्रदान गर्न यी फोनमा ६ पुस्तासम्म ओएस अपडेट र ६ वर्षसम्म नै सुरक्ष अपडेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सामसङले यी फोनलाई विभिन्न र्याम र स्टोरेज भेरियन्टमा बजारमा ल्याएको छ। ग्यालेक्सी ए५७ फाइभजी (१२/२५६ जीबी) को मूल्य ८९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, ग्यालेक्सी ए३७ फाइभजी तीनवटा भेरियन्टमा उपलब्ध छ । यसको १२/२५६ जीबीको मूल्य ७९ हजार ९९९, ८/२५६ जीबीको ७२ हजार ९९९ र ८/१२८ जीबी भेरियन्टको ६४ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यी डिभाइसहरू देशभरका सामसङका आधिकारिक रिटेल स्टोर तथा अधिकृत साझेदारहरूमार्फत खरिद गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।