नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से ३३.२७ अंकले बढ्यो, १० अर्ब ५३ करोडको सेयर किनबेच
नेप्से परिसूचक आज ३३.२७ अंकले बढ्दै १.१७ प्रतिशतको वृद्धिसहित २८६६.८७ विन्दुमा पुगेको छ । कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात गत सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्से, आज भने बढेर बन्द भएको हो । नेप्से परिसूचक आज ३३.२७ अंकले बढ्दै २८६६.८७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंक बढेको छ। आजको कारोबारमा बजारमा उत्साह देखिएको छ। आज कुल १० अर्ब ५३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने २ करोड ६४ लाख ३८ हजार ६२१ कित्ता सेयर किनबेच भएको छ । गत सोमबार भने ८ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
बजारमा २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, शिखर पावर डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।