मन्त्रीहरूको मोह सेयर बजारमा : अर्थमन्त्रीदेखि उद्योगमन्त्रीसम्मको पोर्टफोलियोमा करोडौँको हिस्सा

सार्वजनिक विवरण अनुसार वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूको आकर्षण सेयर बजारमा देखिएको छ ।

काठमाडौं । संघीय सरकारका मन्त्रीहरूले आइतबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरूको आकर्षण सेयर बजारमा देखिएको छ । अर्थमन्त्रीदेखि कृषिमन्त्रीसम्मले विभिन्न कम्पनीहरूमा करोडौँ रुपैयाँ लगानी गरेको पाइएको छ । अर्थमन्त्री वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१,०९३ कित्ता, सांग्रिला विकास बैंकको प्रमोटर सेयर २५,७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख रुपैयाँ, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युतमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

गृहमन्त्री सुदन गुरुङसँग २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर रहेको छ । उक्त सेयर प्राप्तिको स्रोत उनले व्यवसाय पैतृक सम्पत्ति र लगानीबाट गरेको विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालको विभिन्न कम्पनी र बैंकहरूमा बलियो उपस्थिति देखिएको छ । उनको पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर स्वामित्व रहेको छ । यसका साथै बीपीडब्लु माइक्रोफाइनान्समा २५६० कित्ता, ओम मेघश्री फर्मास्युटिकल्समा ५००० कित्ता, ग्लोबल आइएमई र नबिलमा १५९ कित्ता र अन्यमा १७३ कित्ता सेयर रहेको छ । उनको परिवारका सदस्यहरूको नाममा पनि ठुलो मात्रामा सेयर देखिएको छ । शिशिर खनालकी श्रीमती अच्युता अधिकारीको नाममा १५ कम्पनीको सेयर रहेको विवरणमा उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूमा कुल २०,९७८ कित्ता सेयर रहेको छ । जसको वर्तमान मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर देखाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा एक लाख बराबरको सेयर लगानी रहेको छ । यस्तै, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेताको विभिन्न कम्पनीमा दुई सय भन्दा बढी कित्ता सेयर रहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावरमा ६५२ कित्ता र एसएसआईएसमा १० हजार कित्ता सेयर लगानी रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको विभिन्न कम्पनीमा २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीको ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला बालबालिकामन्त्री सीता वादी, शिक्ष विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिना, श्रम, रोजगार तथा सामाजिक सुरक्षमन्त्री रामजी यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सेयर लगानी नगरेको सम्पत्ति विवरणमा उल्लेख छ ।