जीवन विकास, मानुषी र युनिक लघुवित्तबीच मर्जर सम्झौता
मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत संस्था सञ्चालन हुनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ ।
काठमाडौं । नेपालका तीन ठूला लघुवित्त संस्थाबीच मर्जरको प्रक्रिया अघि बढेको छ । मोरङस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था, बाँकेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र काभ्रेपलाञ्चोकको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रिया अघि बढेको हो । मर्जरपश्चात् ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत संस्था सञ्चालन हुनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमा रहनेछ । हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले नै एकीकृत संस्थाको नेतृत्व गर्नेछन् ।
मर्जर प्रक्रियालाई व्यवस्थित रूपमा अघि बढाउन ६ सदस्यीय संयुक्त समिति गठन गरिएको छ । समितिले नियामकीय स्वीकृति, सम्पत्ति तथा दायित्व मूल्यांकन लगायतका कार्य तीव्र पार्ने जनाएको छ। योजना अनुसार २०८३ असार मसान्तभित्र मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरिनेछ ।
हाल तीन संस्थाले मिलेर झण्डै ५ लाख सदस्यलाई सेवा दिइरहेका छन् । मर्जरपछि सेवा पहुँच, शाखा सञ्जाल र डिजिटल वित्तीय सेवामा उल्लेखनीय विस्तार हुने अपेक्ष गरिएको छ ।