आईपिओ स्वीकृतिमा सेबोनको कडाइ : नयाँ वित्तीय मापदण्ड वैशाखदेखि लागू हुने

धितोपत्र बोर्डको चैत २३ सोमबार बसेको बोर्ड बैठकबाट आईपीओको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ वैशाख एक गतेबाट लागू गर्ने निर्णय गरेको हो ।

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपिओ) स्वीकृतिको प्रक्रिया थप कडाइ गर्ने उद्देश्यले नयाँ “वित्तीय विवरण पुनरावलोकन मापदण्ड २०८२” लागू गर्ने निर्णय गरेको छ । धितोपत्र बोर्डको चैत २३ सोमबार बसेको बोर्ड बैठकबाट आईपीओको लागि पेश भएका वित्तीय विवरण पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३ वैशाख एक गतेबाट लागू गर्ने निर्णय गरेको हो । नयाँ मापदण्डअनुसार आईपीओका लागि आवेदन दिने कम्पनीहरूको वित्तीय प्रतिवेदनमा असामान्य अवस्था देखिएमा अनिवार्य पुनरवलोकन गरिनेछ ।

सामान्य मापदण्डअन्तर्गत विगत तीन आर्थिक वर्षको लेखापरीक्षण, पछिल्लो वर्षको वित्तीय विवरण तथा अन्तरिम विवरणहरू परीक्षण गरिनेछ । विक्री आम्दानीको ठूलो हिस्सा व्यापारिक प्राप्यमा देखिनु, कर दायित्व समायोजन गर्दा वित्तीय मापदण्ड नपुग्नु वा सम्बद्ध पक्षसँग उच्च कारोबार भएमा पनि पुनरवलोकन हुनेछ ।

यसका साथै उत्पादन, होटल, जलविद्युत् र लगानी कम्पनीका लागि क्षेत्रगत मापदण्डसमेत तोकिएको छ । वित्तीय सूचकहरूमा अस्वाभाविक उतारचढाव, ब्याज खर्चमा ठूलो अन्तर वा सम्बद्ध व्यक्तिसँग उच्च कारोबार देखिएमा पनि जाँच गरिनेछ । बोर्डले पुनरवलोकन गर्ने लेखा विशेषज्ञका लागि न्यूनतम योग्यता र अनुभवसमेत निर्धारण गरेको छ । यस व्यवस्थाले आईपीओ प्रक्रिया थप विश्वसनीय र पारदर्शी हुने अपेक्षा गरिएको छ ।