वकिलहरूलाई सिंहदरबार प्रवेशसम्बन्धी नयाँ नियमप्रति सुहाङ असन्तुष्ट, गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराएका हुन् ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न ध्यानाकर्षण गराएका हुन् । कुनै पनि नागरिकले आफ्नो मुद्दामा प्रतिनिधित्व गर्न वा प्रशासनिक कामका लागि कानुन व्यवसायी नियुक्त गर्न पाउने संवैधानिक अधिकार रहेको पत्रमा स्मरण गराइएको छ ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, प्रशासनिक निकाय र अदालतमा सेवाग्राहीले कानुन व्यवसायी लिएर जान पाउने कुराले न्यायमा पहुँच र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्ने उनले बताएका छन् ।

अदालतबाट नेपाल सरकार र विभिन्न मन्त्रालयका नाममा जारी भएका आदेश वा फैसला कार्यान्वयनका लागि कानुन व्यवसायी र मन्त्रालयबीच प्रत्यक्ष सम्पर्क र सहज पहुँच आवश्यक हुने नेम्वाङले बताएका छन् ।

त्यस्तै सिंहदरबारभित्रका विभिन्न निकाय र संसदीय दलका कार्यालयहरूले समेत कानुनी परामर्शका लागि कानुन व्यवसायी नियुक्त गर्ने प्रचलन रहेको उनले स्मरण गराएका छन् ।