नेप्सेमा नयाँ सर्किट ब्रेकर नियम लागू : ५ प्रतिशतमा पहिलो ब्रेक, ८ प्रतिशत पुगे कारोबार बन्द
अब त्यसलाई घटाएर दुईवटा सर्किट ब्रेकरको व्यवस्था गर्न लागिएको छ । यद्यपि, सर्किट ब्रेकरको माथिल्लो सीमा भने बढाइने भएको छ । नेप्सेले तयार पारेको उक्त संशोधन प्रस्तावलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको छ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको उतारचढाव नियन्त्रणका लागि प्रयोग गर्दै आएको ‘सर्किट ब्रेकर’ प्रणालीमा परिवर्तन गर्ने भएको छ । नेप्सेले ुधितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई संशोधन गर्दै विद्यमान सर्किट ब्रेकरको सीमा र समय हेरफेर गर्ने भएको हो । हाल नेप्सेमा बजार उच्च उतारचढाव हुँदा तीनवटा सर्किट ब्रेकरको व्यवस्था रहेको छ। अब त्यसलाई घटाएर दुईवटा सर्किट ब्रेकरको व्यवस्था गर्न लागिएको छ । यद्यपि, सर्किट ब्रेकरको माथिल्लो सीमा भने बढाइने भएको छ । नेप्सेले तयार पारेको उक्त संशोधन प्रस्तावलाई नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। बोर्डबाट नयाँ विनियमावली स्वीकृत भएसँगै अब बजारमा सर्किट ब्रेकरको नयाँ मापदण्ड लागू हुने छ । यसअनुसार अब सेयर कारोबार सुरु भएको पहिलो एक घण्टामा सूचक ५ प्रतिशतले बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्नेछ । पहिलो सर्किट ब्रेक लागेर कारोबार १५ मिनेटका लागि बन्द हुनेछ । यसपछि, फेरि खुलेको बजार ८ प्रतिशतले बढेमा वा घटेमा दिनभरका लागि कारोबार बन्द हुन्छ । हाल भने कारोबारको पहिलो एक घण्टाभित्रमा ४ प्रतिशत नेप्से बढेमा वा घटेमा पहिलो सर्किट ब्रेक लाग्छ र कारोबार २० मिनेट स्थगित हुन्छ । त्यस्तै दोस्रो पटक खुलेको बजारमा ५ प्रतिशत नेप्से बढेमा वा घटेमा दोस्रो सर्किट ब्रेक लाग्छ र ४० मिनेटसम्मका लागि कारोबार स्थगित गरिन्छ । त्यसपछि खुलेको बजार सूचकमा ६ प्रतिशतको वृद्धि वा गिरावट भएको खण्डमा दिनभरीका लागि कारोबार बन्द हुने गर्दछ ।बोर्डका ती अधिकारीकाअनुसार सूचीकृत कम्पनीको मूल्य १५ प्रतिशतले घटबढ भएर कारोबार हुन पाउने व्यवस्थासहित विनियमावली स्वीकृत भएको छ । हाल भने सूचीकृत कम्पनीको मूल्य १० प्रतिशतले घटबढ भएर कारोबार हुन पाउने व्यवस्था छ ।