बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।