मार्जिन कारोबारका लागि १२३ कम्पनी मात्रै योग्य, कुन-कुन परे ?
नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२ को परिच्छेद ३ को दफा ८ (१)बमोजिम मापदण्ड पूरा गरेका कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको हो । यो सूचीमा नेप्सेमा सूचीकृत १२३ वटा कम्पनी परेका छन् । नयाँ सूचिमा सबै वाणिज्य बैंक समेटिएका छन् । सूचिमा ११ विकास बैंक परेका छन् र ६ विकास बैंक बाहिरिएका छन् । वित्त कम्पनीतर्फ ११ समेटिँदा ७ कम्पनी सूचिमा परेका छैनन् । लघुवित्त समूहबाट १७ कम्पनी, १२ जीवन बीमा र ११ निर्जीवन बीमा कम्पनी पनि सूचिमा छन् ।
ऊर्जा क्षेत्रतर्फ २४ जलविद्युत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य ठहरिएका छन् । बीमा क्षेत्रअन्तर्गत हिमालयन रिइन्स्योरेन्स समेटिँदा नेपाल रिइन्स्योरेन्स भने यसपटक सूचिबाहिर परेको छ । मार्जिन कारोबारले लगानीकर्तालाई सीमित पूँजीमा बढी लगानी गर्ने अवसर दिने भए पनि जोखिम उच्च हुने भएकाले नियामक निकायले समय–समयमा यस्तो सूची परिमार्जन गर्दै आएको छ ।
स्टक ब्रोकरले आउँदो वैशाख २ गतेबाट लगानीकर्तालाई मार्जिन कारोबार सुविधा प्रदान गर्ने तयारी गरिरहेका छन् । अब लगानीकर्ताहरुले यही सूचीमा रहेका कम्पनीहरुको सेयरमा मात्रै यो सुविधा उपभोग गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले पनि यही सूचीअन्तर्गतका कम्पनीहरुका सेयर धितोमा राखेर लगानीकर्तालाई सेयर लोन प्रदान गर्न सक्नेछन् ।