१९ अंक बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
नेप्से १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा बन्द भएको छ । मंगलबार ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् ।
काठमाडौँ । पछिल्ला दुई कारोबार दिनमा झन्डै ११९ अंकले ओरालो लागेको सेयर बजार मंगलबार भने बढेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा बन्द भएको छ । मंगलबार ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् । हिजो सोमबार भने नेप्सेमा १२ अर्ब ९६ करोड रुपैँयाको कारोबार भएको थियो ।मंगलबार कारोबारमा आएकामध्ये १९५ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १० प्रतिशत बढेको हो । कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।