एपोलो हाइड्रोपावरले चैत २६ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै
कम्पनीले चैत २६ गतेदेखि दोस्रो चरणमा ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
काठमाडौँ । एपोलो हाइड्रोपावरले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत २६ गतेदेखि दोस्रो चरणमा ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले कुल जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो । सर्वसाधारणका लागि खुला गरिएको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ बैशाख १० गतेसम्म निष्काशन खुला रहनेछ ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली वा मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।