ओली–लेखक पक्राउ अपरिपक्व निर्णय, अस्थिरताको जोखिम बढ्छ : विद्या भण्डारी
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यो पक्राउले दूरगामी प्रभाव पार्ने र अस्थिरताको जोखिम बढाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ सरकारको अपरिपक्व निर्णय भएको टिप्पणी गरेकी छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यो पक्राउले दूरगामी प्रभाव पार्ने र अस्थिरताको जोखिम बढाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन् । सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम चुनावी सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बहानामा यो गिरफ्तारी भएको भन्दै पूर्वराष्ट्रपतिले यसको चर्को विरोध गरेकी छन् । उनले उक्त प्रतिवेदन आफैँमा पूर्ण नभएको र अध्ययनहरूले समेत यसमा त्रुटि देखाएको अवस्थामा हतारमा निर्णय गरिनुले विधिको शासनमाथि प्रहार भएको उल्लेख गरेकी छन् ।
विशेष गरी भाद्र २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको सिफारिसलाई आधार बनाएर चालिएको यो कदमले मुलुकमा पुनः द्वन्द्व र अस्थिरता निम्त्याउने जोखिम बढाएको भण्डारीको ठम्याइ छ। उनले कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा पर्याप्त अध्ययन, संस्थागत परामर्श र विधिसम्मत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले चालेको कदम अपरिपक्व रहेको दाबी गरेकी छन् ।
सुशासनको नारा दिएर गठन भएको नयाँ सरकारले सुरुवातमै संवैधानिक मर्यादा र स्थापित लोकतान्त्रिक अभ्यासलाई कुल्चिएको भन्दै उनले यो निर्णय तत्काल पुनर्विचार गरी फिर्ता लिन आग्रह गरेकी छन् ।