नयाँ प्रधानमन्त्रीको लागि आज बालेन्द्र शाहले सपथ ग्रहण गर्दै

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

बालेनले आज दिउँसो १२: ३४ बजे प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ।

बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । रास्वपाले विहिबार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो ।