पाँच दिन लगातार बढेको नेप्सेमा ब्रेक : सूचक २४.४५ अंकले घट्दा १५ अर्ब ९ करोडको कारोबार

यसअघिको पाँच कारोबार दिन बढेको नेप्से आज भने २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा कायम भएको छ । आज नेप्सेमा कुल १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । आज बुधबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । यसअघिको पाँच कारोबार दिन बढेको नेप्से आज भने २४.४५ अंकले घटेर २९३५.९४ बिन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । आज नेप्सेमा कुल १५ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १४ अर्ब ३१ करोड माथिको कारोबार भएको थियो ।

आज पाँच कम्पनीको सेयर मूल्य सकारात्मक सर्किटमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर मूल्य सर्किट स्तरमा पुगेको हो । लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज सर्वाधिक ७.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । अपि पावर कम्पनीको कारोबार करिब ५२ करोड रुपैयाँ पुगेको छ ।

बुधबार कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।