शपथपछि ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाए । सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसदका सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने उनको भनाइ छ । "मेरो सीमिति समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भुमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र, संसदभित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ," केसीले भने ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए । नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएसँगै अब उनले विहिबार अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिएको छ । 

विहिबार सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ ।