२१ दिनको लागि ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

केन्द्रीय बैंकले २१ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २ गते हुनेछ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनको लागि ४० अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २ गते हुनेछ । यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी प्रस्ताव पेस गर्न सक्नेछन् । निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख गरेको छ । निक्षेप संकलन गरिएकोरकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । हालसम्म राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत खिचेको ५ खर्ब ५२ अर्ब ५० करोड केन्द्रीय बैंकमा जम्मा रहेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधामा बैंकहरुले १ खर्ब ४९ अर्ब ६० करोड जम्मा गरेका छन् । त्यस्तै ऋणपत्र मार्फत संकलन गरेको २ खर्ब रुपैयाँ पनि राष्ट्र बैंकमा रहेको छ । हालसम्म बैंकहरुले लगानी गर्न नसकेको ९ खर्ब २ अर्ब १० करोड राष्ट्र बैंकमा जम्मा भएको छ ।