अपडेटसहित ‘जे सिक्स टी’ सार्वजनिक, ६७ लाखमै बिक्री सुरू
कम्पनीले अहिले विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ जे सिक्स टी (J6T) नयाँ डिजाइनसँगै ठूलो साइज, अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ ।
काठमाडौं । नेपालमा जेको ब्राण्डको नयाँ मोडल ‘जे सिक्स टी’ (J6T) सार्वजनिक भएको छ । नेपालका लागि ओमोडा जेको (JAECOO) को आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आज ‘जे सिक्स टी’ एसयूभी बिक्री सुरू गरेको हो । कम्पनीले यसअघि यो एसयूभी जे सिक्स नामबाट बिक्री गर्दै आएको थियो । अहिले अपडेटसहित नयाँ नाममा ल्याएको हो । कम्पनीले जे सिक्स टीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकेको छ । कम्पनीले अहिले विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजारमै उपलब्ध गराउने भएको छ ।
कम्पनीले नयाँ जे सिक्स टी नयाँ डिजाइनसँगै ठूलो साइज, अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ । यसअघि २०० एमएम रहेको ग्राउण्ड क्लियरेन्स बढाएर २२५ एमएम बनाएको छ । अगाडिको ग्रिलमा नै मुख्य परिवर्तन देखिएको नयाँ जे सिक्स टीको साइज पनि परिवर्तन भएको छ । यसको लम्बाइ ४४३३ एमएम, चौडाइ १९१६ एमएम र उचाइ १७४१ एमएम छ ।
जेकोले यसमा अप्रोच एङ्गल २७ डिग्री र डिपार्चर एङ्गल ३१ डिग्री दिएको छ । जसको कारण अफरोड स्थानमा पनि यसलाई सहजै चलाउन सकिन्छ । लाइफ स्टाइल इलेक्ट्रीक भेहिकल जेको जे सिक्स टीमा ब्याट्री ब्याप भने पहिलेको जस्तै ६५.६९ किलोवाट आवरको छ । रियर ह्वील ड्राइभमा उपलब्ध यो एसयूभीमा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।