हिल्टन पुनर्बीमा प्रकरण : तीन कम्पनीलाई जरिवाना, एक ब्रोकरको लाइसेन्स निलम्बन
प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको हो ।
काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा अनियमितता भएको भन्दै तीन कम्पनी र एक ब्रोकरलाई कारबाही गरेको छ । प्राधिकरणले नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रि–इन्स्योरेन्स कम्पनी, ओरियण्टल इन्स्योरेन्स कम्पनी र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीलाई कानुन विपरीत काम गरेको भन्दै कारबाही गरेको हो । प्राधिकरणले नेपाल रिका सिइओ, हिमालयन रि–इन्स्योरेन्स र दी ओरियन्टल इन्स्योरेन्सलाई दुई(दुई लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै, एलियन्ट पुर्नबीमा ब्रोकर कम्पनीको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ ।
प्राधिकरणका अनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुर्नबीमा कानुनविपरीत हिमालयन रिमा गरिए पनि दायित्व भने नेपाल रिमा सार्ने प्रयास गरिएको देखिएको थियो। सो विषयमा स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त हिल्टन होटेलमा करिब ६ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेको छ। उक्त दाबीको दायित्व सरकारी स्वामित्वको नेपाल रिमा पार्न खोजिएको प्राधिकरणको निष्कर्ष छ ।
छानबिन समितिले सम्बन्धित कम्पनी र व्यक्तिहरूले निर्देशन उल्लंघन गरेको ठहर गर्दै कारबाही सिफारिस गरेको थियो । सोही आधारमा प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको हो । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार कारबाही गरिएको जनाएको छ ।