स्नो रिभर्सको आईपीओ निष्काशन तथा बिक्री खुला

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं । स्नो रिभर्सले आज (चैत ९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाको वडा नं. ८ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाको सिरीजङ्गा गाउँपालिकाका वडा नं. १ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिकाको वडा नं. ५ र ६, पाथिभरा याङवारक गाउँपालिकाको वडा नं. ५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाको वडा नं. १ का स्थानिय बासिन्दाहरुलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बाँडफाँट गरिनेछ । 

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २३ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ८ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते हुनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।