८ महिनाकै उच्च विन्दुमा नेप्से, ५४ अंकको वृद्धिसँगै २३ अर्ब बढी कारोबार
आइतबार नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ । यो ८ महिनायताकै उच्च विन्दु हो । आज २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ । यो ८ महिनायताकै उच्च विन्दु हो । यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ६४.६९ अंकले बढेर बन्द भएको थियो ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पनि ८ महिनायताकै उच्च हो । यस अघि गत साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बिहीबार भने नेप्सेमा कुल २० अर्ब ७९ करोड माथिको कारोबार भएको थियो ।
आज ७ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन रहेका छन् । आज एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ८५ करोड ९६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको करिब ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो ।