आयोजना प्रभावित र विदेशमा रहेकाका लागि सानिगाड हाइड्रोको आईपीओ खुल्यो

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न स्वीकृति पाएको थियो ।

काठमाडौं । सानिगाड हाइड्रोले आज चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न स्वीकृति पाएको थियो । यसमध्ये प्रारम्भिक चरणमा २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ, जसको कुल मूल्य २८ करोड ५० लाख रुपैयाँ हुन्छ ।

उक्त सेयरमध्ये अति प्रभावित क्षेत्रअन्तर्गत बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता छुट्याइएको छ । बाँकी ९ लाख ९७ हजार ५०० कित्ता भने सोही नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ । यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशतले हुन आउने ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ । सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन छिटोमा चैत २२ गते बन्द हुने छ भने मागअनुसार नपरेमा वैशाख ७ गतेसम्म खुला रहनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ ।

कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै इक्रा नेपालले “इक्रएनपी डबल बी माइनस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । स्थानीय बासिन्दाहरूले लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका बझाङस्थित शाखाहरूबाट आवेदन दिन सक्नेछन् । साथै, पावरहाउसस्थित वीराबगर, बुंगलबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सि–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।