याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन?

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो ।

काठमाडौं । याम्बालिङ हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रूपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ७ करोड रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ७ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ करोड १० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित दरका २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो ।

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २२ गतेसम्म लम्बिनेछ । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्युअरु रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।