पोखरा महानगरका प्रमुख आचार्यसँग जर्मनीका राजदूत भोल्जको शिष्टाचार भेट

सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा सञ्चालन भइरहेका विभिन्न परियोजनाको प्रगति बारे जानकारी गराउँदै केही नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।

पोखरा । नेपालका लागि जर्मनीका राजदूत युडो इयुजेन भोल्जले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेट गरेका छन् ।

पोखरा महानगरपालिकामा भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ । सो क्रममा नगर प्रमुख आचार्यले जर्मन सरकारको सहयोगमा सञ्चालन भइरहेका विभिन्न परियोजनाको प्रगति बारे जानकारी गराउँदै केही नीतिगत विषय कार्यान्वयनको चरणमा रहेको बताएका थिए ।

जर्मन सहयोगमा दिगो विकास, आर्थिक वृद्धि र वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको जिआइजेडको सहयोगमा तयार गरिएको पाँच वर्षे नगर ऊर्जा योजना कार्यान्वयनको चरणमा रहेको पनि उनले उल्लेख गरेका छन् । योजना अनुसार गरिबी न्यूनीकरण र वैकल्पिक ऊर्जाको प्रयोग बढाउन थप सहकार्यका लागि आफूहरू तयार रहेको उनको भनाइ छ ।

यसैगरी आचार्यले पोखरामा पर्यटन पूर्वाधार विकास, सांस्कृतिक आदानप्रदान तथा जर्मनीका सहरहरूसँग भगिनी सम्बन्ध विस्तार गर्न इच्छा व्यक्त गर्दै यसका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन् । उनले पोखरा-जर्मनीबीच अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि समेत सहयोग गर्न अनुरोध गरेका छन् ।

जवाफमा राजदूत भोल्जले पहिलो पटक पोखरा भ्रमण गर्दा सहर निकै सुन्दर लागेको बताए । हिमालको काखमा अवस्थित पोखराको विकास, समृद्धि र वातावरणीय सुधारका क्षेत्रमा सहकार्य गर्न सकिने उनले उल्लेख गरेका छन् । नेपाल र जर्मनीबीचको कूटनीतिक सम्बन्ध दीर्घकालीन सहकार्यमा आधारित रहेको बताउँदै ऊर्जा दक्षता, वातावरण सुधार र पर्यटन प्रवर्द्धनमा थप सहकार्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

भेटवार्तामा उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, प्रवक्ता मोतीलाल तिम्सिना लगायतको सहभागिता रहेको थियो ।