अमेरिकी डलर बलियो बन्दा ८ महिनामा नेपालीलाई थपियो १ खर्ब ऋणभार, फागुनसम्म तिर्न बाँकी २८ खर्ब ७८ अर्ब
८ महिनमा २ खर्ब ४ अर्ब सार्वजनिक ऋण थपिँदा प्रत्येक नेपालीको थाप्लोमा करिब १ लाख रुपैयाँ ऋणभार
पीडीएमओको विवरण अनुसार आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख रुपैयाँबाट बढेर १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा आन्तरिक ऋणतर्फ २४ खर्ब ३६ अर्ब ६६ करोड रुपैयाँ प्राप्ति हुँदा १६ खर्ब ३७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
काठमाडौं । विनिमय दरमा देखिएको बृद्धिको असर नेपालको सार्वजनिक ऋणमा परेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ)का अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म विनिमयदरका कारण ९७ अर्ब ९८ करोड रुपैयाँ थप ऋणभार व्यहोर्नुपर्ने अवस्था आएको छ । नेपालमा भारतीय मुद्राको सटही दर स्थिर छ । भारतीय मुद्रामा भएको कमजोरीको असर नेपालको मुद्रामा परेको हो । २०८२ असार मसान्तमा अमेरिकी डलर एकको विनिमय दर १३७ रुपैयाँ रहेकोमा अहिले १४८ रुपैयाँ हाराहारी छ । यसरी अमेरिकी डलरको तुलनामा नेपाली मूल्य अवमूल्यन भएपछि त्यसको भार ऋण भुक्तानीमा परेको हो र यसले वैदेशिक ऋणको हिस्सालाई बढाउँदै लगेको छ ।
नेपालमा सार्वजनिक ऋण तीव्र गतिमा बढ्दै जाँदा प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण पनि बढिरहेको छ । पीडीएमओका अनुसार फागुनसम्म प्रत्येक नेपालीमाथि ९८ हजार ६९१ रुपैयाँ बराबरको ऋण पुगेको छ । यद्यपी यो ऋण आमसर्वसाधारणले प्रत्यक्ष तिर्नु भने पर्दैन । २०७८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना छ । नेपालको फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ छ।
पीडीएमओका अनुसार चालु आर्थिक वर्षको सुरु (साउन १) मा २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको कुल ऋण दायित्व फागुनसम्म आइपुग्दा बढेर २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
आठ महिनामा सरकारले ३० खर्ब ४६ अर्ब ७२ करोड रुपैयाँ ऋण प्राप्त गरेको छ भने १९ खर्ब ४१ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी गरेको छ । समग्रमा यस अवधिमा सार्वजनिक ऋण करिब २ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ । विवरण अनुसार आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड ४१ लाख रुपैयाँबाट बढेर १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा आन्तरिक ऋणतर्फ २४ खर्ब ३६ अर्ब ६६ करोड रुपैयाँ प्राप्ति हुँदा १६ खर्ब ३७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा आन्तरिक ऋण २२.०७ प्रतिशत पुगेको छ ।
यस्तै, बाह्य ऋण १४ खर्ब ५ अर्ब ८२ करोड ३६ लाख रुपैयाँबाट बढेर १५ खर्ब ३० अर्ब १८ करोड १० लाख रुपैयाँ पुगेको छ । बाह्य ऋणतर्फ ५ खर्ब ६८ अर्ब ३ करोड रुपैयाँ प्राप्ति भएको छ भने ३ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरिएको छ। जीडीपीको आधारमा बाह्य ऋण २५.०६ प्रतिशत पुगेको छ ।