उपदान तथा पेन्सन कोषको साढे ९ अर्ब मुद्दती निक्षेपमा राख्न वित्तीय संस्था खोज्दै राष्ट्र बैंक
राष्ट्र बैंकका अनुसार एक वर्षका लागि मुद्दती निक्षेपमा राखिने कुल रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ७ अर्ब ६० करोड, ‘ख’ वर्गका बिकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ बराबरको रकम राखिने छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न बैंक तथा वित्तीय संस्थाको खोजी गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न भनेको छ ।
राष्ट्र बैंकका अनुसार एक वर्षका लागि मुद्दती निक्षेपमा राखिने कुल रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा ७ अर्ब ६० करोड, ‘ख’ वर्गका बिकास बैंकमा १ अर्ब ४२ करोड ५० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ४७ करोड ५० लाख रुपैयाँ बराबरको रकम राखिने छ ।
मुद्दती निक्षेपमा २०२६ मार्च २४ देखि २०२७ मार्च २४ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम र ब्याजदर खुलाइ चैत ६ गते भित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
निक्षेप माग गर्ने बैंक तथा वित्तीय संस्थाले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायतका शर्त पुरा थरेको हुनुपर्नेछ ।