२३.८७ अंकले बढ्यो नेप्से, साढे १४ अर्ब माथिको कारोबार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार दुई दिन घटेको बजार आज बिहीबार २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेर बन्द भएको हो ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । लगातार दुई दिन घटेको बजार आज बिहीबार २३.८७ अंकले बढेर  २८२०.४४ विन्दुमा पुगेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आज ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजारपटक किनबेच हुँदा १४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 

आज १७६ कम्पनीको मूल्य बढ्दा, ७७ को घट्यो भने ९ वटाको स्थिर रह्यो । आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । उपसमूहगत विश्लेषण गर्दा १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

बैंकिङ्ग उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ। विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहमा पनि सकारात्मक प्रभाव देखिएको छ। होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहमा भने परिसूचक सामान्य घटेको छ।

त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।