रास्वपाको स्पष्ट बहुमतले नेपालको राजनीतिक अनिश्चितता घटाउने फिचको विश्लेषण

यो नतिजाले विगतका वर्षमा देखिने गरेको बारम्बारको सरकार परिवर्तन र निर्वाचनपछिको लामो गठबन्धन वार्ताको जोखिमलाई न्यून गर्ने अपेक्षा गरिएको छ । फिचका अनुसार यो नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका एजेन्डाहरू कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

काठमाडौं । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालको हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको स्पष्ट संसदीय बहुमतले देशको अल्पकालीन राजनीतिक अनिश्चितता कम गर्ने बताएको छ । यो नतिजाले विगतका वर्षमा देखिने गरेको बारम्बारको सरकार परिवर्तन र निर्वाचनपछिको लामो गठबन्धन वार्ताको जोखिमलाई न्यून गर्ने अपेक्षा गरिएको छ । फिचका अनुसार यो नतिजाले नीतिगत स्थिरता, सुशासन र आर्थिक सुधारका एजेन्डाहरू कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै फिचले भनेको छ, ‘स्पष्ट बहुमतका कारण गत वर्षको गम्भीर अशान्तिपछि देखिन सक्ने लामो गठबन्धन वार्ताको जोखिम टरेको छ । यसले विगतका वर्षहरूमा हुने गरेका बारम्बारको सरकार परिवर्तनलाई रोक्ने सम्भावना बढाएको छ । यदि नयाँ सरकारले सुशासन र आर्थिक सुधारमा ठोस प्रगति देखाउन सकेमा लगानीकर्ताहरूको मनोबल समेत बढ्नेछ।’एकल पार्टीको बहुमतले राजनीतिक संक्रमणकाललाई छोट्ट्याउने र जलविद्युत्मा आधारित लगानीलाई फराकिलो आर्थिक वृद्धिमा रूपान्तरण गर्न मद्दत पुग्ने फिचको विश्लेषण छ ।

रास्वपाले अबका पाँच वर्षमा औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ । फिचले यो लक्ष्यलाई महत्त्वाकांक्षी मानेको छ ।

फिचले सन् २०२७ जुलाईमा समाप्त हुने आर्थिक वर्षका निम्ति नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

नयाँ सरकारको नीतिगत प्राथमिकतालाई केलाउँदै प्रतिवेदनमा भनिएको छ, “उत्पादकत्व वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गरी वैदेशिक पलायन रोक्ने, पूर्वाधार, कृषि, सेवा, डिजिटल र नवीन उद्योगहरूमा निजी क्षेत्रको नेतृत्वमा लगानी बढाउनेजस्ता नयाँ सरकारका मुख्य प्राथमिकता रहेको देखिन्छ ।”

यस्ता प्राथमिकता कार्यान्वयनमा जोखिम हुन सक्नेप्रति प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । फिचले नेपालको कमजोर सरकारी प्रभावकारिता र नियामक गुणस्तरप्रति सचेत गराएको छ ।

चुनावी अपेक्षाअनुसार सुशासन कायम हुन नसकेमा वा सुधारका योजना स्पष्ट नभएमा कार्यान्वयन क्षमतामा ठूलो चुनौती देखिन सक्छ । वैदेशिक लगानी भित्र्याउनका निम्ति व्यापारिक वातावरणमा ठोस सुधार र भ्रष्टाचारविरोधी कदम प्रभावकारी हुनुपर्नेमा जोड दिइएको छ ।

नोभेम्बर २०२५ मा फिचले नेपाललाई क्रेडिट रेटिङ बीबी माइनस दिएको थियो । सुशासनमा सुधार र निजी तथा वैदेशिक लगानी अनुकूल वातावरण बनेमा नेपालको क्रेडिट प्रोफाइल अझ सुधार हुन सक्ने फिचले उल्लेख गरेको छ । नेपालको कम ऋण भार, बलियो बाह्य तरलता र जलविद्युत्मा आधारित मध्यमकालीन वृद्धि सम्भावनाले यो रेटिङलाई बल पुर्‍याएको जनाइएको छ । तर, सानो अर्थतन्त्र भएका कारण बाह्य झट्का र प्राकृतिक विपत्तिको जोखिम कायमै रहेको फिचले उल्लेख गरेको छ ।

फिच रेटिङ्स एक प्रमुख अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी हो । यो अमेरिकाको धितोपत्र र विनिमय आयोगमा राष्ट्रिय रूपमा मान्यता प्राप्त सांख्यिकीय रेटिङ संस्थाका रूपमा दर्ता छ ।