११५ अंकको उतारचढावबीच ३२ अंकले घट्यो सेयर बजार, साढे ७ महिना पछिकै ठूलो कारोबार
कारोबारको अन्तिम समयतिर भने केही संयमित बन्दै सूचक २८४३.३५ विन्दुमा रोकियो । मंगलबार नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार हुँदै साढे ७ महिनाअघिको कारोबार रकमलाई पछ्याएको छ । मंगलबार ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ
काठमाडौं । आज मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्स) तीब्र उतारचढाव (११५.२३ अंक) बीच ३२.०८ अंकले घटेर कारोबार बन्द भएको छ । हिजो सोमबार ६ प्रतिशत (१६२.९३ अंक) ले बढेको बजार सूचक आज मंगलबार भने १.११ प्रतिशत घटेको छ ।
फागुन २१ को निर्वाचनपछिको पहिलो कारोबार दिन सोमबार नेप्सेमा ३ पटक सकारात्मक सर्किट ब्रेक लागेको थियो । तर, आज मंगलबार भने नियमित कारोबार सुरु भएपछि नै बजार घट्न थालेको थियो । २९११.३६ अंकसम्म चढेको नेप्से सूचक नियमित समयमा भने तिब्र गिरावट आउँदै १२ : ३५ बजे २७९६.१३ अंकसम्म झरेको थियो । कारोबारको अन्तिम समयतिर भने केही संयमित बन्दै सूचक २८४३.३५ विन्दुमा रोकियो । मंगलबार नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार हुँदै साढे ७ महिनाअघिको कारोबार रकमलाई पछ्याएको छ । मंगलबार ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ । सोमबार जम्मा ५५ करोडको कारोबार भएको थियो । यसअघि २०८२ साउन ११ गते २६ अर्ब ५७ करोडबराबरको कारोबार भएको थियो । त्यसअघि २०८२ साउन ४ गते २० अर्ब ९५ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । त्यसो त २०८१ भदौ ३१ गत २९ अर्ब ९५ करोडको सेयर किनबेच भएको थियो ।
घटेको बजारमा मंगलबार ७८ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको स्थिर रह्यो । निर्जीवन बीमा समूह ०.४७ र जीवन बीमा समूह ०.५१ प्रतिशत बढेको बजारमा बैंकिङ समूह १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, लघुवित्त ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटेको छ ।
मंगलबार रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्दा थ्रीस्टार हाइड्रोपावरको ९.०८ प्रतिशत बढेको छ । हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत मूल्य घटेको बजारमा सबैभन्दा धेरै कारोबार भने ङादी ग्रुप पावरको १ अर्ब ९ करोड बराबरको सेयर किनबेच भएको छ ।