चुनावमा होमिएका पाँच पूर्वअर्थमन्त्रीमा वर्षमान पुन मात्रै विजयी

चार पूर्वअर्थमन्त्री विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र डा. प्रकाशशरण महत हार्दा वर्षमान पुन निर्वाचित भएका हुन् ।

काठमाडौं । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये एकजना मात्रै विजयी भएका छन् । चार पूर्वअर्थमन्त्री विष्णु पौडेल, जनार्दन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की र डा. प्रकाशशरण महत हार्दा वर्षमान पुन निर्वाचित भएका हुन् ।

पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट निकै फराकिलो मतान्तरले पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग हारेका हुन । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएको निर्वाचन आयोगले जनाएको छ ।

पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट हार बेहोरेका छन् । चुनावको केही समयअघि मात्रै आफ्नो पुरानो पार्टी नेकपा एकीकृत माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनी पुरानै पार्टीका उम्मेदवारसँग पराजित हुन पुगेका हुन् । उनका प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी हुदा शर्माले भने १४ हजार ३ सय ४६ मत ल्याए । दोस्रो स्थानमा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत सहित दोस्रो स्थान हासिल गरेका थिए ।

सुनसरी ४ मा उम्मेदवार बनेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि भारी मतले पराजित भएका छन् । उक्त क्षेत्रमा रास्वपाका दीपककुमार साहले ४२ हजार ७७१ मत ल्याइ विजयी भएका हुन् । त्यस्तै कार्कीले भने १६ हजार ८५७ मत ल्याएका छन् । ०७९ को चुनावमा कार्कीले उक्त क्षेत्रमा एक सय १२ मतले मात्रै जितेका थिए । 

नुवाकोट १ मा डा. प्रकाशशरण महत पनि पराजित भएका छन् । अन्तिम मत परिणामअनुसार डा। महतले १८ हजार ६ सय ११ मत ल्याए । उनलाई पछि पारेका रास्वपाका विक्रम तिमिल्सिनाले २२ हजार ६ सय नौ मत ल्याएर विजयी भए । डा. महत यसअघि समानुपातिकबाट सांसद बनेका थिए । 

यसपटक निर्वाचनमा भाग लिएका पूर्व अर्थमन्त्रीहरुमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्रप्त गर्दै विजय भएका हुन् । उनले नेपाली कांग्रेसका सुदनकुमार वलीलाई ठुलो मतान्तरले हराएका हुन । वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । पुन हालसम्म २ पटक अर्थमन्त्री भैसकेका छन् ।