चुनावपछिको आक्रामक सेयर बजारः भावनामा आधारित नभई अनुशासित लगानीको खोजी
लगानीकर्ताहरूले केवल भावनाका आधारमा नभई कम्पनीहरुको वास्तविक अवस्था अध्ययन र आगामी दिनमा आउन सक्ने जोखिम मूल्यांकन गरेर अनुशासित र लामो अवधिको रणनीतिमा आधारित भई लगानी निर्णय गर्दा दीर्घकालमा राम्रो हुन्छ ।
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि सेयर बजारका लगानीकर्ताहरु उत्साहित छन् । त्यसको छनक निर्वाचनपछि खुलेको पहिलो दिन अर्थात् सोमबारको बजार बृद्धिले देखाउँछ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत (झण्डै दुई तिहाई) ल्याउने संकेतपछि ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षमा लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ ।
सोमबार नेप्सेमा लगातार तीन सर्किट ब्रेक लागेर कारोबार समयअगावै कारोबार बन्द भएको थियो । ६ प्रतिशतले बढेको बजारमा धेरै कारोबार भने हुन पाएन । समग्रमा डेढ मिनेट मात्रै नियमित कारोबार भएको बजारका परिदृष्यले आज मंगलबार पनि नयाँ उचाईतिर लम्कने संकेत गरेको छ । चुनावी परिणामपछि लगानीकर्ताहरूमा देखिएको मनोवैज्ञानिक सकारात्मकभाव हेर्दा बजारमा आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरेको छ ।
लगानीकर्ताहरूले केही दिन लगातार सेयर बजार माथिल्लो विन्दूमा सर्किट लागेर कारोबार हुनसक्ने अनुमान गरिरहेका छन् । तर, धेरै उत्साहित भएर बजारमा लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ किनभने कम्पनीहरुका आधारभूत तथ्यहरु सन्तोषप्रद छैनन् । त्यसैपनि यस्तो बेला मनगढन्ते ढंगले बजारमा कमजोर कम्पनीहरुकै मूल्य बढी बढ्ने गर्दछ । सोमबारकै कारोबारमा पनि केही कमजोर कम्पनीहरुको मूल्य उच्च बृद्धि देखिन्छ । लामो समयदेखि सेयर बजारमा सुधार अपेक्षा राखिएपनि त्यसअनुरुप सरकारले सकारात्मक कदम चालेको देखिँदैन । नयाँ स्थिर सरकार आएसँगै आफ्ना एजेण्डा सम्बोधन हुने विश्वासमा लगानीकर्ता छन् । त्यसैले धेरै सकारात्मक र उत्साही दिएपनि पछि फेरी नकारात्मक अवधारणा बनाउने अवस्था आउनसक्छ । अकारण बजारमा हुने अस्वाभाविक प्रतिक्रियाको परिणाम राम्रो नदेखिन सक्छ ।
बजारले एक दुई दिन तीव्र रूपमा बढ्ने र त्यसपछि तीव्र रूपमा घट्ने प्रबृत्तिमा लैजानुभन्दा क्रमिक रूपमा स्थिर वृद्धि गर्नतर्फ लगानीकर्ता लाग्नुपर्छ । स्थिर बृद्धि नै लामो अवधिका लागि राम्रो हुन्छ । पछिल्लो दसक नेपालको सेयर बजार राजनीतिक अस्थिरता, अस्थिर नीति, नियामकहरुबीच बेमेल र कमजोर नियमनको चपेटामा फस्दै आएको छ । यसबीचमा देखिएको नीतिगत अनिश्चितताका कारण धेरै लगानीकर्ताहरू लामो अवधिको लगानीभन्दा छोटो अवधिको कारोबारमा केन्द्रित हुँदै आका थिए, जसले सेयर बजारमा छिटोछिटो उतारचढाब ल्याउने गरेको थियो । कतिपय बेला स-साना बहानामा बजार जसरी बढ्थ्यो, त्यसैगरि घट्थ्यो । यसले लगानीकर्ताको मनोबलमा गम्भिर असर पुर्याएको आंकलन गर्न सकिन्छ । त्यसैले सकारात्मक राजनीतिक सङ्केत देखिए पनि बजारमा केही जोखिमहरू कायमै छन् ।
अर्थतन्त्रका बाह्य सूचकहरु राम्रा भएपनि आन्तरिक परिवेश कठिन देखिन्छ । अझ पछिल्लो समय मध्यपूर्वमा देखिएको समस्याले इन्धनको मूल्यमा तिब्र बृद्धि गराएको छ । यसले ल्याउन सक्ने मूल्य बृद्धिलाई रोक्न विश्वभरका केन्द्रीय बैंकहरु ब्याजदर बढाउने उपकरण प्रयोग गर्न खोजिरहेका छन् । त्यसको असर अवश्य नेपालमा पनि अवश्य पर्नेछ । त्यसैले ज्यादै नै उत्साही भएर लगानी गर्दा भोलीका दिनमा ठुलो जोखिम आउन सक्छ र धेरै उत्साहित भएर लगानी गर्नु पनि एउटा जोखिम नै हो किनभने यस्तो बेला जस्तासुकै कम्पनीको अस्वभाविक मूल्य वृद्धि हुन सक्छ । लगानीकर्ताहरूले केवल भावनाका आधारमा नभई कम्पनीहरुको वास्तविक अवस्था अध्ययन र आगामी दिनमा आउन सक्ने जोखिम मूल्यांकन गरेर अनुशासित र लामो अवधिको रणनीतिमा आधारित भई लगानी निर्णय गर्दा दीर्घकालमा राम्रो हुन्छ ।